Saturday, October 7, 2017

लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न कांग्रेसलाई एमालेको चेतावनी


२१ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । साथै वाम एकतालाई देखाएर चुनाव नगर्ने खेलमा नलाग्न समेत सचेत गराएको छ ।
शनिबार धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकालेको छ । र, सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय लिएको छ ।
आफूहरुको सहमति कांग्रेसविरुद्ध नभएको भन्दै एमालेले अराजनीतिक टिपप्णी नगर्न आग्रह गरेको छ । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘कतिपय पार्टी र नेताहरुको अभिव्यक्तिले उनीहरुभित्रको बेचैनी, अत्यासलाई अभिव्यक्त गरेको छ ।’
वाम एकता गर्ने आफूहरुको सहमतिलाई लोकतान्त्रमाथिको खतरा, अधिनायकवादको यात्रा, राजनीतिक अस्थिरता निम्त्याउने खेल भनेकोमा एमालेले आश्चर्य व्यक्त गरेको छ ।
सचिव ज्ञवालीले हचुवा र अराजनीतिक टिप्पणी नगर्न र लोकतन्त्रमाथिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरी सर्वसत्तावाद/अधिनायकवाद आदि टिप्पणीलाई उनीहरुमा आएको हतासा र विचलनका रुपमा लिएका छौं ।’
एमालेले माओवादीसँगको एकता सरकार ढाल्नका नभएको र यही सरकारले चुनाव गराउने प्रष्ट पारेको छ । तर, वामपन्थी एकताको नाममा सरकार परिवर्तन र सरकार परिवर्तनको नाममा चुनाव सार्ने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएको छ ।
निर्वाचन कार्यक्रम शुरु भइसकेको र निर्वाचन आयोगले चेतावनी दिइसकेकाले मन्त्रिपरिषद हेरेफर स्वीकार्य नहुने पनि एमालेले प्रष्ट पारेको छ ।
बैठकमा बामपन्थी एकताको समिक्षा गर्नुका साथै हालसम्मका निर्णयहरु अनुमोदन गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

0 comments:

Post a Comment

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut