काठमाडौं, १७ भाद्र । प्रहरीको लापरवाही र ढिलासुस्तीका कारण समयमा उपचार नभई राम मनोहर यादवको मृत्यु भएको तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)को निष्कर्ष रहेको छ । थर्ड एलायन्सले आइतबार एक विज्ञप्ति जारी सो घटनाप्रति थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उच्च रक्तचापबाट पीडित यादवलाई प्रहरीले समयमा औषधी उपचार नगरी निकै विलम्बपछि अस्पताल लगेको कारण शुक्रबार उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उपप्रधान एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सभामा सहभागी हुन पुगेका स्वतन्त्र मधेश गठबन्धनका पश्चिम क्षेत्रीय संयोजक ईर्फान अहमद शेख, जिल्ला सहसंयोजक हरपाल सिहं सोडी, जिल्ला सदस्य राजीत राम बर्मा र जिल्ला सदस्य राममनोहर यादवलाई जिल्ला समन्वय समिति बर्दियाको सभा हलबाट बाहिर बोलाएर भाद्र ७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरुलाई राजद्रोहको मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो ।
आफ्नो परिवारबाट उच्च रक्तचापको औषधि पाउने आशमा रहेको यादवका परिवार र साथीहरुलाई दुई दिनसम्म प्रहरीले भेट गर्न नदिएपछि प्रहरीसंँग उच्च रक्त चापको असर कम गर्ने औषधी मागेका थिए तर प्रहरीले निजलाई त्यो औषधि दिएनन् । प्रहरीले औषधी नदिएका कारण गम्भीर टाउको टुखाईबाट ग्रस्त यादव थला परी भदौ १४ विहान ५ बजे अचेत भएको कुरा अनुगमनको क्रममा पाइएको छ ।
भाद्र १४ गते बिहान ५ बजे थुना कक्षमा राम मनोहर यादव अचेत भएको कुरा अन्य थुनुवाहरुले प्रहरीलाई खबर गरे । प्रहरीले यादवलाई उपचारका लागि गुलरिया अस्पतालमा भर्ना गरेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगंजमा भर्ना गरेका थिए । भेरीमा आईसीयू खाली नरहेको अस्पतालले बताएपनि सोही अस्पतालका डाक्टर पारस श्रेष्ठले मेडिकल कालेजमा फोन गरी आईसीयूमा यादवलाई भर्ना गर्न आग्रह गरेका थिए ।
तर, प्रहरीले थप उपचारलाई प्राथमिकताका साथ बिरामीलाई आईसीयूमा भर्ना नगरी यादवको परिवारलाई एउटा कागजमा हस्ताक्षर गरेमा मात्र थप उपचारको लागि बाहिर लग्ने भनिरहेका थिए । उपचारमा ढिलाई भएको कारण निजको स्वास्थ्य अवस्था झन् नाजुक बनेको थियो । थर्ड एलायन्स, नेपालगंज कार्यालयले उपचारमा अवरोध नगर्न नगराउन भनी प्रेस विज्ञप्ती जारी गरेपछि प्रहरीले विरामीलाई आइसीयूमा भर्ना गरेको थियो ।
आईसीयूमा यादवलाई भर्ना गरेपनि स्वास्थ्य अवस्थामा खासै सुधार नभएकोले अक्सीजन लगाएर एम्बुलेन्समा राखि थप उपचारको लागि काठमाडौ स्थित त्रि.वि. शिक्षण अस्पतालमा पुगेपछि डाक्टरले निजलाई मृत घोषणा गरेको थियो ।
यता पक्राउ परेकाहरुलाई गैरकानुनी थुनामा राखेको भन्दै उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर भएको छ । अदालतले ४ जनालाई भाद्र १७ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
उक्त सभामा शान्तिपुर्ण तरिकाले सहभागी भएको कारणले प्रहरीले निजलाई गैरकानूनी तरिकाले नियन्त्रणमा लिएको तथा प्रहरीको चरम लापरवाही र ढिला सुस्तीका कारण निजको मृत्यु भएको घटना सम्बन्धमा निष्पक्ष तरिकाले छानबिन तथा अनुसन्धान गरी दोषीलाई कानूनी दायरमा ल्याई कारवाही गर्न तथा पीडित परिवारलाई न्यायोचित क्षतिपुर्ति प्रदान गर्न थर्ड एलायन्सले नेपाल सरकारसँग माग गरेको छ । साथै राष्ट्रिय मानवअधिकार आयोग लगायतका मानवअधिकार संघसंस्थाहरुलाई समेत उक्त घटनाको छानविन गर्न आग्रह गरेको छ ।
source: madheshvani dot com

0 comments:
Post a Comment